सबैभन्दा बढी विनाश भएको ठाउँहरुमध्ये एक मियागी केनको क्यापिटल सिटी सेन्दाइतिर थुप्रै नेपाली विद्यार्थीहरु रहेको बुझिएको छ। तर उनीहरुको अवस्थाबारे केही थाहा हुन सकेको छैन।
जापानमा हिजो गएको ८.९ रेक्टर स्केलको महाभूकम्प र त्यसपछिको सुनामीले मच्चाएको विध्वंस नै अहिले विश्वभरका सञ्चार माध्यमहरुको प्रमुख समाचार बनेको छ। यो महाविपत्तिबाट जापान र त्यहाँका बासिन्दाले चाँडै पार पाओस् भनी प्रार्थना गर्नु मानवीय कर्तव्य हो। कृपया कसैलाई केही खबर भए तल कमेन्टमा लेखिदिनुहोला।
भित्र पढ्नुस् त्यो डरलाग्दो महाभूकम्प महसूस गरेका दुई नेपालीको अनुभव-
अझै भूँइ हल्लिएको जस्तो लाग्दैछ
-रीजन श्रेष्ठ-
रातभर नेपाली र हिन्दी फिल्म हेरेर सुत्दा बिहानको यस्तै ५ बजेको थियो होला। दिउँसोको तीन बजेतिर कसैले खाट हल्लाए जस्तो लाग्यो। जापानमा बसेको आठ वर्ष जति भइसकेकोले यो भूकम्प हो भनेर ठम्याउन मलाई त्यति बेर लागेन। पहिले बिस्तारै अनि बेस्सरी, अझ बेस्सरी घर हल्लिन थाल्यो। कम्पन झन् तिब्र हुँदै गयो। ढोकानजिकै रहेको टेबलमाथि राखिएको फूलदानी भुइँमा झर्यो, अनि फुट्यो। हेर्दाहेर्दै फूल, पानी र सिसा भुइँभरी भए। म खाटको कुनातिर च्यापिएर सिरानीले टाउको छोपी सिरकभित्र गुटुमुटिएर भगवानको नाम लिँदै पल्टिरहेँ। यस्तै १-२ मिनेटको कम्पन हुनुपर्छ त्यो, तर मलाई भने झन्डै एक घण्टा जस्तो लामो लाग्यो।



No comments:
Post a Comment