
डीभी भनेपछि हामी नेपाली किन हो हुरुक्कै हुन्छौँ। ठगहरुलाई के चाहियो र अनि। नयाँ नयाँ आइडिया निकालेर ठग्न लागिपर्छन् नेपालीका पैसा। कतिको पैसा यसरी डुबिसक्यो होला कुन्नि।
केही अघि मलाई एक जना साथीले कानमा खुसुक्क ‘यस्तो इमेल आयो हेर न मलाई डीभी पर्यो रे’ सुनायो। मैले खै त हेरौँ भनेर इमेल हेर्न मागेँ। इमेल हेर्ने बित्तिकै थाहा पाइहालेँ- यो ठगीको काम हो। मैले उनलाई विभिन्न तर्क गर्दै यो यो कारणले यो ठगी हो भन्दै सम्झाएँ। ऊ ५० प्रतिशत जति विश्वस्त भएको जस्तो मलाई लागेको थियो। आज अमेरिकी दूतावासले यसै सम्बन्धमा निकालेको वक्तव्य हेरेपछि भने उनी मात्रै हैन उनी जस्ता अरु पनि सतर्क हुनुपर्ने हो। अब कोही जानाजानी भीरतिरै लम्कन्छ भने ‘राम-राम’ मात्रै भन्ने हो हामीले।
विज्ञप्ति हेर्नुस्-
अमेरिकी राजदूतावास
पब्लिक अफेयर्स कार्यालय
काठमाडौं, नेपाल
फोन : ४००–७२००
२०६७ माघ ११
अमेरिकी राजदूतावास
पब्लिक अफेयर्स कार्यालय
काठमाडौं, नेपाल
फोन : ४००–७२००
२०६७ माघ ११
डाइभर्सिटी भिसा जालसाजीबारे अमेरिकी दूतावासको चेतावनी
अमेरिकी विदेश मन्त्रालय अथवा कन्सुलर अफेयर्स ब्युरोका तर्फबाट केही नेपाली नागरिकलाई पठाइएको भनिएका इमेलहरुको सम्बन्धमा काठमाडौंस्थित अमेरिकी दूतावासको कन्सुलर शाखा स्पष्ट पार्न चाहन्छ। डाइभर्सिटी भिसा (डिभी) उल्लेख भएका वा ग्रीनकार्ड दिने भनिएका कुनै पनि इमेल तपाईंले प्राप्त गर्नुभयो भने ती इमेलमा भएका विवरण सबै अवैध र जालसाजीपूर्ण भनेर बुझ्नुपर्नेछ। यस्ता इमेल प्राप्त गर्ने नेपाली नागरिकलाई उक्त इमेल कन्सुलर शाखाको जालसाजी प्रतिरोध युनिटको ठेगाना FraudKTM@state.gov मा फरवार्ड गर्नुहुन अनुरोध छ।
कन्सुलर शाखा यस सम्बन्धमा दुईवटा तथ्य स्पष्ट पार्न चाहन्छ :
१. डिभीसम्बन्धी सूचना इमेलबाट पठाइँदैन। तपाईंले डिभी चिठ्ठा वा ग्रीनकार्ड जित्नुभयो भनेर पठाइएका सबै इमेल झूटा हुन्। सन् २०१२ को डिभीका लागि आवेदन दिएकाहरुले आफ्नो आवेदनको अवस्थाको जानकारी www.dvlottery.state.gov सन् २०११ मे १ (तदनुसार २०६८ वैशाख १८) पछि पाउन सक्नुहुनेछ। अरु कुनै पनि संस्था वा व्यक्तिलाई डिभी आवेदकहरुलाई चिठ्ठा परेको वा परिसकेपछि चाल्नुपर्ने कदमबारे जानकारी दिने अख्तियार छैन।
२. पछाडि .gov भएका इन्टरनेट साइटहरु मात्र अमेरिकी सरकारका आधिकारिक साइट हुन्। तपाईंले “.com”, “.net”, “.org” मा टुङ्गिने वा “.gov” बाहेक अरु जेसुकैमा टुङ्गिने ठेगानाबाट इमेल प्राप्त गर्नुभएको छ भने त्यो अमेरिकी दूतावास वा विदेश मन्त्रालयको आधिकारिक इमेल हुन सक्दैन।
केही वेबसाइटले अमेरिकी झण्डा वा अमेरिकी सरकारी भवनहरु देखाएर अमेरिकी सरकारबाट आधिकारिक जिम्मेवारी पाएको भान पार्न खोज्छन्। तिनीहरु अमेरिकी सरकारका आधिकारिक वेबसाइट होइनन्। अमेरिकी सरकारका आधिकारिक वेबसाइटहरु www.state.gov , travel.state.gov मा निःशुल्क पाइने जानकारीका लागि पनि यी जालसाजीपूर्ण वेबसाइटहरुले तपाईंबाट पैसा असुल्न सक्छन्।
इन्टरनेट ठगीको बारेमा तपाईं उजुरी गर्न चाहनुहुन्छ भने अमेरिकी संघीय व्यापार कमिसनको वेबसाइट www.econsumer.gov/english/ वा संघीय अनुसन्धान ब्युरोको इन्टरनेट अपराध उजुरी केन्द्र www.ic3.gov मा जान सक्नुहुनेछ। अवाञ्छित इमेलको बारेमा उजुरी दिन अमेरिकी न्याय मन्त्रालयको वेबसाइट www.usdoj.gov/spam.htm मा जान सक्नुहुनेछ।

No comments:
Post a Comment