Friday, June 4, 2010

चीनको सांघाइ सहरमा नेपाल



चीनको सांघाइमा भैरहेको वर्ल्ड एक्स्पोमा उदघाटन भएको ३ दिन पछिनै हेर्न जाने मौका पायो। साथी अरुण नेपालदेखि आएर हेर्न आएकाले म पनि उसको गाइड हुँदै चाँडै नै घुम्न जान मौका पाएको थिएँ। सांघाइ पुगेको भोलिपल्टै सांघाइ एक्स्पो हेर्न पुग्यौं एक्सपो सेन्टरतिर। शुरुमै नेपालको पाभिलियोन कक्ष कता छ बुझ्यौं र लम्क्यौं त्यतैतिर।

बिशाल एक्स्पो कक्षमा चीनको कक्षको नजिकै देखापर्यो स्वयम्भुको स्तूप अनि रातो नेपाली तेल ईंटाले बनेको नेपाली कलाको पूर्ण प्रतिबिम्ब झल्किएको नेपाली कक्ष। मन नै गदगद भैराथ्यो चीनको त्यस जमिनमा नेपाली कलाकृतिले सुसज्जित नेपाली कक्ष देखेर। कक्ष अगाडि मन्दिरको गजुर अनि ढुंगेधारा थियो। नेपालका ढुंगेधाराहरुबाट पानी बग्न छोडेपनि सांघाइको त्यस नेपाली धाराबाट सललल पानी बगिरहेको थियो। नेपाली कक्षको बायाँपट्टी सुनको लेप लगाइएको आकाशभैरबको ज्वाज्वल्यमान मुर्ति नेपाली कक्षको आकर्षणको केन्द्र बनिरहेको थियो।

नेपाली कक्ष घुम्न आएका चिनियाँहरु हतरपतर त्यस मुर्तिअगाडि बसेर फोटो खिच्न हतार गरिरहेका देखिन्थे। नेपाली कक्ष छिर्ने ढोकामा काठको तोरण अनि भित्र पस्नासाथ नेपाली मुर्तिहरु अबलोकन गर्दा नेपालमै घुम्दै हो कि भन्ने आभास समेत हुन्थ्यो। तर मुर्तिहरु कुन कसको हो भन्ने पर्याप्त जानकारी नलेखिएकोले अबलोकन गर्न आएकाहरु आआफुमा यो कुन मुर्ति हो भनेर सोध्दै गरेका देखिन्थे। उनीहरु अल्मलिएको देख्दा ती मुर्तिहरुको अझै अवमुल्यन भैरहेको जस्तो भान पनि हुन्थ्यो। कक्ष बाहिर दीपंकर बुद्धको मुर्ति, अनि नेपालीशैलीका भाँडाकुँडा र काठका बुट्टाहरुको नेपालको कला सँस्कृतिको प्रस्ट झल्को दिइरहेको थियो। कक्षभित्रको कफिसप भित्र र नेपालीसामानको पसलमा नेपाली दाजुभाइहरुपनि देख्न पाए। उहाँहरु अझ नेपाली पोसाकमै बसिरहेका भए नेपालको सँस्कृतिको अझ बढी प्रभाव देखिन्थ्यो। चिनियाँ कक्षघुम्दा त्यहाँ बसिरहेका चिनियाँहरु चिनियाँ पोशाकमै हुँदा अबलोकनकर्ताहरु उनीहरुसंगै फोटोखिच्न 
लालायित भैरहेका देखिन्थे।


प्रबिधिको प्रभाव देखाउन नसकेतापनि आफ्नो कला संस्कृतिको प्रशस्त प्रभाव देखाउन सफल भैरहेको नेपाली कक्षमा नेपाली पोशाकका नेपालीहरुको अभाव चाहिं खट्किएकै थियो। भित्रबाट माथि स्वयम्भु चैत्यसम्म पुग्न सक्ने गरी गोलाकारमा बाटो बनाइएको थियो। त्यहाँ माथि पुगेर वरिपरि हेर्दा नेपाली कक्षको मनोरम कला छर्लंग देखिन्थ्यो। अझ नजिकै आयोजक राज्य चीनको कक्ष र वरिपरि अरु एशियाली मुलुकका कक्षहरु पनि हेर्न मिल्थ्यो। नेपाली कक्ष मंगलधुनले गुन्जायमान भैरहेको थियो भने वरिपरि लेखिएको “भवतु सब्ब मंगलम्” (पाली भाषामा 
सबको मंगल होस्) ले विश्वलाई नै शान्तिको सन्देश दिइरहेको थियो।
रन्जना लिपि, देवनागरी लिपी, अंग्रेजी र चिनियाँ भाषामा लेखिएको नेपाल।

No comments:

Post a Comment