बेबिलोन डिस्कोमा हरेक ‘फ्राइडे’ yestai 'बंकर्स पार्टी' हुने गर्थियो । फ्राइडेलाई उनीहरु त्यही भएर TGIF भन्छन् अर्थात् थ्याङ्क गड इट्स फ्राइडे। कलेज बङ्क गर्यो, डिस्कोमा मन मिल्ने साथीहरुसँग गएर मस्तसित नाच्यो। उनीहरुलाई नै लक्षित गरेर बिहान अरु ठाउँमा भजन गाइरहेको बेला सुन्धाराको त्यो डिस्को जोनबाट बिहान सबेरैदेखि अंग्रेजी गीतका चर्को आवाज आउँथ्यो। तर आज सँधैभन्दा फरक भयो। कलेज ड्रेसमा नाचिरहेकै बेला प्रहरीले बेबिलोन डिस्कोमा घेरा हाल्यो र ३ सय १३ जनालाई पक्रेर भ्यानहरुमा कोच्चाउँदै पुलिस क्लब लगेर थुनिदियो। कार्यथलो नजिकै भएकोले म पनि गएको थिएँ त्यहाँ। हेरौँ केही फोटोहरु- कसरी र्याक गरे बंकर्स पार्टी गर्नेहरुलाई प्रहरीले-
सबलाई ओसार्न यस्ता भ्यान आठ नौ पटक ओहोरदोहोर गरेको थियो। सशस्त्र प्रहरीको भ्यानमा कोचेर यिनीहरुलाई लगे पनि अरुलाई मिनी टाटामा भेडाबाख्रा कोचेसरह लगिएको थियो।
अनुहार छोप्दै उनीहरु प्रहरीको भ्यानमा बसिरहेका थिए। कुनै कुनै केटीहरु त रोइरहेका देखिन्थे। केही भने बिन्दास थिए। भी साइन देखाउँदै भ्यानमा पनि होए…भनी हल्ला गर्दै रमाइलो गरिरहेका थिए। डिस्कोभित्र बरामद भएका बियर र स्कूल ड्रेस। ड्रेसमा बीजीसी लेखिएको छ अर्थात् ब्रिटिस गोर्खा कलेज। बाबुआमा छोराछोरीहरुले पढाइ गरिरहेको भन्ठानिरहेको होला, छोराछोरी भने डिस्कोमा गएर प्रहरीको छापामा पो! केही भने ड्रेस खोलेर छापा छलेर भाग्न सफल भए रे।
ल हेर्नुस्, बिहान ७ बजेदेखि हुने डिस्कोको टिकटको मोल २९९ रुपैयाँ रहेछ।
यही हो बेबिलोन डिस्को। हेर्दा ठाउँ सानो भए पनि कति धेरै मान्छे पो अटाउने रहेछन् त्यहाँ।

यी हुन् अवधेश विष्ट, जनसेवा प्रहरीका प्रमुख। यिनैको नेतृत्वमा यो छापा मारिएको हो। उनी पूर्व गृहमन्त्री वामदेव गौतमका ‘भक्त’ हुन् रे अनि ठूलै सोर्स लाएर कमाइ हुने जनसेवामा सरुवा भएका रे। जनसेवा प्रहरीको मुख्य कमाइ हुने ठाउँ भनेको सुन्धाराको यस्तै डिस्को, डान्स र ‘कामकुरो मिलाउने’ गेस्ट हाउसहरु हुन्। अस्ति भर्खर न्युड डान्स बारमा छापा मार्ने काम पनि यिनैले गरेका रे। बटुवाहरुका फरक फरक प्रतिक्रिया यो प्रकणमा सुनियो। एक जना भन्दै थिए- नाच्न नि नपाउने ? भागवण्डा के मिलेन होला अनि पुलिसले नाटक देखाएको। अर्को भन्दै थियो- खिच्नुस् खिच्नुस्, यस्ता विकृति जन्माउनेलाई ठूलो फोटो बनाएर छाप्नुस्!


No comments:
Post a Comment