Saturday, June 5, 2010

पूर्वराजा ज्ञानेन्द्रसितको अन्तर्वार्ता


पूर्वराजा ज्ञानेन्द्रसित इमेज च्यानलकी गृष्मा राजभण्डारीले लिएको अन्तर्वार्ता उनले आफूलाई धोका दिइएको महसूस भएको बताएका छन्। राजसंस्था आफ्नै पालामा अन्त्य हुँदा कस्तो अनुभव हुन्छ भन्ने बारे सोधिएको प्रश्नको जवाफमा उनले आफूले दोषी महसूस नगरी अलिकति दुःखी अनुभव गरेको भन्दै कताकता धोका दिएको महसूस हुन्छ भनेका हुन्। दोस्रो जनआन्दोलनका बेला वैशाख ८ र ११ गते पर्दापछाडि भएका सहमतिबारे उनले भने- तथाकथित सहमतिका बारे धेरै कुरा आइसकेको छ। मेरै मुखबाट निकाल्न सान्दर्भिक छैन। पत्रपत्रिकामा यो कुरा आइसकेको छ। धेरै नेपालीले बुझेका छन्। जनकपुरमा राजसंस्था सकिसकेको जस्तो लाग्दैन भन्ने आफ्नो अभिव्यक्ति विवादित भएको विषयमा उनले भने- नेताहरु भएपछि बोल्न त अधिकार छ तर सुन्नु पनि उहाँहरुको कर्तव्य हो। सुन्न पनि सक्नुपर्छ उहाँहरुले। त्यो मैले आफैले भन्या हैन सर्वसाधारणले मकहाँ आएर व्यक्त गरेको विचार हो।
अन्तर्वार्ताको भिडियोको दोस्रो भाग यसै पेजको अन्तर्वार्ताको मुनि राखिएको छ। पहिलो भाग हेर्न क्लिक गर्नुस्-



के भनेर सम्बोधन गरौँ यहाँलाई ? पूर्वराजा, भावी राजा, उद्योगपति, नेपाली नागरिक?
म सर्वसाधारण नेपाली भनेर चिनिन चाहन्छु।
जनता जान्न चाहन्छन यहाँको दिनचर्या कसरी बित्छ ?
सर्वसाधारण दाजुभाइ दिदीबहिनीको जस्तै छ मेरो दिनचर्या। अलिकति के फरक छ भने धेरै मेहनत गर्नुपर्दैन। समय छ। जीवन भनेको फूलको बिछ्यौना हैन काँडा पनि हो। काँडा भए पनि नघोचिने गर्नुपर्छ। म ६ बजे उठ्छु, पाठ गर्छु। नातिनातिनी सँग स्कूल जानुअघि केही समय बिताउँछु। मान्छे भेट्छु, मान्छे भेट्ने क्रममा दिग्गज पनि हुन्छन् सर्वसाधारण पनि हुन्छन्। सबैलाई सुनिदिने धैर्य हुनुपर्छ। १२ बजेपछि लञ्च खान्छु।
जवानी ढल्किसकेको कुरा पनि हैन। तर शरीरलाई पनि अलि रेस्ट दिएर फेरि साढे पाँच छ बजेदेखि भेट्छु नौ दसबजेसम्म। रातिको खाना ९/१० सम्म खान्छु। कुकुर पालेको छु। कुकुर लिएर हिँड्ने ठाउँ छ नागार्जुनमा।
आसेपासेसित भेटघाट कस्तो छ ?
छन् साथीहरु नभा हैन। तर सँधै गहिरो राजनीतिक कुरा मात्र हुँदैन। रमाइलो गरिन्छ। रमाइलो गर्नु भनेको मात्तिनु मात्र हैन। नमात्ति पनि रमाइलो गर्न सक्छ।
तपाईँको आधिकारिक पार्टी कुन हो? राप्रपा नेपाल नै हो कि?
उहाँहरुले सिद्धान्त बनाएको हो। त्यो बनाउँदैमा हाम्रो संगत छ भन्नु भ्रम हो। त्यसो भए धेरै अघि नै राजनीतिक कुरामा लाग्ने थियौँ कि हामी। त्यतातिर ध्यानै गएन। अहिले पनि मन छैन।
राजावादीहरु छहारी नपाएर माओवादी प्रवेश गरेका छन् ? किन ? 
यो प्रश्न उहाँहरुलाई नै गर्नुस, मैले जवाफ दिने हैन।
वैशाख ११ अघि पर्दापछाडि भएका सम्झौताबारे के भन्नुहुन्छ ?
तथाकथित सम्झौता बारे धेरै कुरा आइसकेको छ। मेरै मुखबाट निकाल्न सान्दर्भिक छैन पत्रपत्रिकामा आइसकेको छ। धेरै नेपालीले बुझेका छन्। वैशाख ११ को कुरा, वैशाख ८ गतेको कुरा नेपाली जनताले एकचोटी दोहोराउनु पर्छ भन्ने कुरा अहिले सान्दर्भिक छैन।
हिन्दु राज्य हुन्छ भन्नेमा कति संभावना छ ?
मैले भन्ने कुरा हैन त्यो। जनतालाई नै सुसूचित टाठो बनाइदिनु पर्‍यो। ८० प्रतिशत भगवानलाई विश्वास गर्नेलाई कसै न कसैलाई मन त दुखेको होला अहिलेका नेताहरुले विचार गर्नुपर्छ।
जनकपुरमा जानुभयो, जनमत बुझ्न हो ?
सर्वसाधारण नेपाली मन्दिरमा जहिले पनि जान पाउनु पर्छ। हक छ बोल्न। त्यहाँ जुन कुरा गरेको थिएँ त्यो कुरा कतिपय सर्वसाधारणले सोधेको कुरा भनिदिएको हो त्यसो भन्दा मलाई कतिपयले दिवास्वप्न देख्न लागेको, धमिलो पानीमा माछा मारेको भन्दिए। वहाँहरुको पनि भन्ने अधिकार हो। तर नेताहरु भएपछि बोल्न त अधिकार छ सुन्नु उहाँको कर्तव्य हो, सुन्न पनि सक्नुपर्छ उहाँहरुले। मैले आफैले भन्या हैन सर्वसाधारणले व्यक्त गरेको विचार भन्देको हो मैले।
राजा फर्कनु पर्छ भन्ने नारा सुन्दा कस्तो अनुभव भयो?
गर्मीको अनुभव भइरहेको छ। नेपालगन्जमा आएर जाडो कहाँबाट हुन्छ? त्यो पनि यो मौसममा। मैले पसिना चुहाएर हिँड्दा तपाईँहरु पनि हिँड्नु भयो। सर्वसाधारणको माया स्नेह तपाईँहरुले पनि अनुभव गर्नुपर्‍यो। देखिहाल्नुभो भीडमा थिचेको, पछारेको छ। सबै रमाइलो हुने रहेछ। कतिपयलाई छुनै पर्ने ढोग्नै पर्ने।
राजसं‍स्थाले कहिले पनि पपुलारिटी खोजेको हैन, युनिटी खोजेको हो। अहिले पनि त्यही देख्छु। यहाँ आएकामा कुन जात, कुन लिङ्ग, फरकै देखिनँ। सबै नेपाली देखेँ।
राजसंस्था तपाईँ कै पालामा अन्त्य भयो, गिल्टी महसूस हुन्छ ? 
I feel little sad not guilty. Because many things could have been avoided. somethings I feel I was betrayed others I feel that people have yet to experience and understand real impact of those actions.
(अनुवादः मलाई दोषी महसूस हैन अलिकति दुःखी महसूस हुन्छ। किनभने धेरै कुरा पन्छाउन सकिन्थ्यो। मलाई कता कता धोका दिइएको महसूस हुन्छ। मलाई लाग्छ कि त्यो घटना (राजतन्त्रको अन्त्य) को वास्तविक असर मानिसहरुले अनुभव गर्न र बु्झ्न बाँकी नै छ।)
राजसंस्था जानुमा छोरा पारसको धुमिलो छविको पनि हात छ भनिन्छ। कसरी मूल्याङ्कन गर्नुहुन्छ?
अरुलाई दोष दिएर पन्छाउने काम कसैले गर्नुहुन्न। परिवारको मुख्य मान्छे भएपछि मुख्य मान्छेले नै गुण अवणुण सबै लिन्छ। अरुलाई औँला ठड्याउने मेरो बानी छैन। दोष मैले लिनुपर्छ। अरुलाई पन्छाएर काम गर्ने बानी छैन।
जेठ १४ स‍विधान नबने राजस‍‍‍स्था ब्युँतन्छ, ४७ को संविधान लागू हुन्छ भन्ने पनि सुनिन्छ। कतिको विश्वस्त हुनुहुन्छ ?
राजनीतिक कुरा गर्न पुग्या छैन तपाईँलाई? अहिले कसैले संविधान बन्छ कसैले बन्दैन भनिराखेको अवस्था छ। मैले थप्न घटाउन सक्दिनँ। राजनीतिक कुरा नगरौँ।
राजा वीरेन्द्रको वं‍शनाशमा माओवादीले तपाईँ, भारत र अमेरिकाको हात छ भनेको छ। के भन्नुहुन्छ ? 
यो पनि खै मलाई त खै कुनै प्रमाण आएको छैन। जुन आयोग गठन भाथ्यो उहाँहरुले पनि यस्तो कुरा गर्नुभा छैन। यो कुरामा विश्वास गर्छु गर्दिन फ्‌याट्ट भन्न सक्दिनँ।
नारायणहिटीबाट लखेटियो, नागार्जुनबाट पनि लखेट्नु पर्छ भन्ने सुन्दा हाउ डु यु फिल?
आइ फिल एज अ कमन सिटीजन जस्टिस इज नट गिभन टु मी। सामान्य नागरिकका रुपमा मेरो पनि अधिकार छ। अधिकार पाउन अदालत जान सकिन्छ भनेका छन् कसैकसैले मलाई।
सरकारका तर्फबाट के के सुविधा दिइएको छ?
केही पनि सुविधा छैन। लोडसेडिङ मैले पनि भोगिरहेको छु। पानी आउँदैन। मेरो निवासमा त सबै सर्वसाधारणले जस्तो कर तिरेको छु। छोराबुहारी नातिनातिना सबैले कर तिरेका छन्।
नेपालगन्ज पछि भ्रमण योजना के छ?
धेरै ठाउँबाट बोलाइराखेको छ। हेर्दै जाउँ कहिले मौका मिल्छ। व्यवस्था मिले जाने कोसिस गर्छु। जनता माझ जान मलाई कहिले अप्ठेरो थिएन अहिले पनि छैन। व्यवस्था मिले पछि जाने कोशिश गर्छु।
अन्त्यमा केही भन्न चाहनुहुन्छ?
नेपाली जनतालाई धैर्य र विवेक पुर्‍याएर बस्नुस्। अहिलेको समयको माग यही हो। उहाँले खोज्नु भएको जस्तो दस्तावेज आउँछ आउँदैन कुरौँ। राष्ट्र, राष्ट्रियता र स्वाभिमानी भएर बाँच्न पाउने कुरालाई गुमाउनु हुन्न। शिर ठाडो पारेर सबै नेपाली सं‍सारको जुनसुकै कुनामा बस्न पाउन् भन्ने आशा छ।
अहिलेको भद्रगोल राजनीतिक अवस्थामा यहाँको केही भूमिका हुन्छ कि टुलुटलु हेरेर बस्नु हुन्छ ?
यो उहाँहरुको कुरा हो। चुप लागेर बस भन्नु भयो भने बस्छु। गर भन्नुभो भने गर्छु।
केही गरौँ जस्तो लाग्दैन ? 
त्यो समय आउँदैछ होला। अहिले चाहिँ बेला भा छैन हाहाहा…
http://www.flixya.com/video/3006833/Mysansar

No comments:

Post a Comment