काठमाडौँमा सबैभन्दा व्यस्त हुने ४ सय किलोमिटर सडकलाई फराकिलो पार्न साढे ३ दशकअघि नै योजना बनेको थियो। तर न राजाको प्रत्यक्ष शासन पञ्चायत कालमा केही गर्न सकियो, न बहुदल आएपछि। अहिले भने ड्यामड्याम डोजर लगाएर अतिक्रमण गरी बनाइएका घरटहराहरु भत्काइँदैछ। मापदण्डविपरीत बनेका संरचनाहरु जस्तै ठूलावडाको किन नहोउन् भत्किरहेको छ। सडकको क्षेत्रफलभित्र पर्ने एक रोपनीभन्दा बढी जग्गा एभरेस्ट होटलले मात्र वर्षौदेखि उसकै बाउको सम्पति जस्तै गरी भोगिरहेको थियो। तर मापदण्डविपरीत बनेको होटल एभरेस्टको पर्खाल र स्विमिङ पुल यसपालि भत्कियो। मेजर धनबहादुर गुरुङ, विश्वविक्रम शाह, गौरवविक्रम शाह, वनवारीलाल मित्तललगायत धनाढ्यहरूले एक्स्ट्रा पावर लगाएर सुरक्षित राखेका घरकम्पाउन्ड पनि भत्कियो। पूर्वराजा वीरेन्द्रका सचिव चिरनशमशेरले पनि मिचेर बनाएको संरचना भत्काइयो। अहिले काठमाडौँका मुख्य सडकमा यसो हिँड्नुभयो भने देख्नुहुन्छ, कुनै पनि भेदभावबिना २०३३ सालबाट लागू भएको मापदण्ड अनुसार जजसले मिचेर संरचना बनाएका थिए, सबका भत्किएका छन्। बाटो फराकिलो हुने भयो भनेर मानिसहरु दङ्ग परेका छन्।
तपाईँ पनि दङ्ग पर्नुभएको छ? हो भने तपाईँ निरङ्कुशता मनपराउने मान्छे ! यसपालिको सहरको ‘प्रतिष्ठित’ म्यागेजिन ‘हिमाल’ पढ्नुभो ? त्यसमा भनिएको छ- यसरी दङ्ग पर्नेहरु ‘निरङ्कुशता प्रिय’ हुन्। प्रधानमन्त्री बाबुराम भट्टराईले निरङ्कुश शैलिमा सडक विस्तार गरिरहेका हुन्। बाबुरामले गुण्डागर्दी गरेका हुन्। बाबुरामले बिना कुनै कानुन ‘जनता’को निजी सम्पतिमाथि डोजर चलाएका हुन्। बाबुरामको पालामा भएका राम्रा काममध्ये एक भनेर धेरैले प्रशंसा गरेको यो काममा हिमालले चाहिँ किन यस्तो कठोर शब्द प्रयोग गरेर विरोध गरेको होला त ? कुरा यस्तो पो रहेछ।
यो काम कसलाई नराम्रो लाग्छ तपाईँ आफै सोच्नुस् त ?
हो, पक्कै पनि जसको घर भत्किएको छ वा भत्किनेवाला छ, उनीहरुलाई नै यो काम नराम्रो लाग्छ। मापदण्ड र कानुनविपरीत घर नबनाउनु बनाइहाले, अब नभत्काइदिए धेरैलाई बेफाइदा भए पनि ती घरटहरा वा संरचनाका ‘मालिक’ लाई पक्कै पनि फाइदा नै हुन्छ। आफ्नो बेफाइदा हुने काम पक्कै पनि राम्रो लाग्दैन। उनीहरुका लागि त यो निरङ्कुश काम नै हुन्छ, सरकारी गुण्डागर्दी नै हुन्छ।
कुनै पनि मेनस्ट्रिम मिडियाले विरोध नगरेको तर ‘हिमाल’ले विरोध गरेको यो कामको रहस्य बुझ्न पनि गाह्रो छैन। काठमाडौँमा जस्तै ललितपुरमा पनि सडक विस्तारको काम हुनेवाला छ। र शाखा सडकमा सडकको बीच भागबाट दायाँ-बायाँ ११/११ मिटर, प्रशाखा सडकमा सडकको बीच भागबाट दायाँ-बायाँ ७/७ मिटर र भित्री सडमा सडकको बीच भागबाट दायाँ-बायाँ साढे ५/साढे ५ मिटरको २०३३ साल मै लागू भइसकेको मापदण्ड अनुसार त्यहाँ पनि डोजर लाउनु पर्नेछ। त्यहाँ डोजर लाउने हो भने ‘हिमाल’ हाउसका रातो बङ्गला, ढोकैमा क्याफेलगायतका संरचना पनि पर्ने रहेछ। नगर विकास समिति ललितपुरका नगर नियोजक बसन्तकुमार राईका अनुसार रातो बङ्गलाका केही संरचना पनि मापदण्ड मिचेर बनेको छ। तर, यसलाई के गर्ने भन्ने बारे अहिले नै केही निर्णय भइसकेको छैन, छलफल हुँदैछ।
अब बुझ्नु भो त? कडा शब्दमा कभर स्टोरी बनाएर सरकारको कामलाई ‘निरङ्कुश’ भन्नुको कारण ? आखिर जोसँग जे छ, त्यसैको शक्ति प्रयोग गर्ने हो। ‘हिमाल’को हातमा पत्रिका छ, त्यसैले बाबुरामको यो काम निरङ्कुश, बाबुरामको नेतृत्वमा भएको यो ‘सरकारी गुण्डागर्दी’।
समाचार मै नगर नियोजक भाइकाजी तिवारीको भनाई पनि छापिएको छ- ‘यो २०४५, २०५० र २०६४ सालको मन्त्रिपरिषद्ले पनि निरन्तरता दिएको विषय हो। नगर विकास कार्यान्वयन ऐन २०२९ पछि नगर विकास ऐन २०४५ आयो। काठमाडौंको हकमा उपत्यका नगर विकास समितिले मापदण्ड तोक्न सक्छ। अहिले ज-जसले त्यो मापदण्ड विपरित सडकको दायाँबायाँ जग्गा अतिक्रमण गरेका वा ओगटेका छन् त्यो खाली गर्न र भत्काउन ७ कात्तिकमा सार्वजनिक सूचना प्रकाशित गरिएको हो। सूचना पालना नगर्नेहरूलाई राज्यले बलपूर्वक हटाउन सक्छ।’ त्यसो भए बिना कुनै कानुन गरिएको रहेछ त यो सब ?
त्यसैगरी समाचारको एउटा अंशमा भनिएको छ- ‘बाबुरामको उर्दी :शान्ति र संविधान निर्माणमा अग्रसर रहनुपर्ने बाबुराम भट्टराई नेतृत्वको सरकारको पहिलो प्राथमिकता अहिले महानगरको सडक विस्तार हुन पुगेको भान हुन्छ।’
लौ यो अनुसार त बाबुरामले शान्ति र संविधान बाहेक अरु कामको क पनि उच्चारण गर्न नहुने रहेछ। दैनिक प्रशासनका केही काम पनि गर्न नहुने रहेछ। शान्ति र संविधानको काम भइरहेकै छ। दलहरु बीच कुराकानी भइरहेको छ। त्यसमा बाबुराम आफैले गर्न सक्ने अब केही छैन। अब दलका नेताहरुले नै मिलेर निर्णय गर्ने काम बाँकी छ। अब त्यो भनेर बाबुराम चुप लागेर बस्नु पर्ने भन्ने त हैन नि। सक्ने काम त गर्नुपर्यो नि। त्यति बाटो फराकिलो मात्रै पार्न सके भने पनि काठमाडौँका अधिकांश बासिन्दाले बाबुरामको पालामा यो सब भएको भनेर सम्झने छन्। तत्कालीन मेयर केशव स्थापितलाई मान्छेले अझै भूल्न नसकेका त्यही भएर हो। उनले माइतिघर मण्डला लगायत कलंकीको बाटो फराकिलो पार्दा साहस देखाएकैले यो संभव भएको हो।
त्यसैले अहिले केहीले बाबुरामलाई निरङ्कुश, गुण्डा जे भने पनि अधिकांशको लागि फाइदै हुने काम उनको नेतृत्वको सरकारले गरेको हो। मेरो त समर्थन छ यसमा। तपाईँको के विचार छ ?

No comments:
Post a Comment