Thursday, October 6, 2011

विभिन्न देवीका मन्दिर र शक्तिपीठहरू र बलि

एउटा फुच्चे राँगोको कसैले खु्ट्टा तान्या छन्, कसैले पूच्छर। घिसारेर त्यो राँगोलाई पचली भैरवमा बलि दिन लगिँदैछ। बलि अर्थात् धर्म गर्न जाँदैछन् उनीहरु। धर्मको नाममा यो सब भइरहेको छ। तर माफ गर्नुस्, मैले यसमा धर्म देख्‍न सकिनँ। एउटा प्राणीलाई दिइने यस्तो सास्ती पापको परिभाषामा पर्नु पर्ने हो। शनिबार राति अबेरको यो दृश्यलाई प्रकाश माथेमाको क्यामेराले फ्रान्सेली समाचार एजेन्सी एएफपीमार्फत् विश्वभर फैलाएको छ। दशैँका क्रममा दिइने बलिहरु मध्येको यो एउटा रुपमात्र हो। 
महानवमीका दिन दसैँघर र कोतलगायत देशका विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा राँगाको बलि दिइन्छ।  अधिकांश ठाउँमा महाष्टमीको दिन दसैँघरमा बलि दिने र महानवमीको दिन मार हान्ने प्रचलन रहेको छ। कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ। हनुमानढोकाको दसैँघरलगायत कतिपय समुदायले महाष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ–आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाउँछन्।
पुराणमा महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेको भन्दै मान्छेलाई पनि यस्तै गर्न रहर लागेको रहेछ। पुराण वास्तवमा एक साहित्य हो। उतिबेला साहित्यमा सांकेतिक रुपमा केही भन्ने चलन थियो। शायद रक्तबीज असुरको रुपमा सांकेतिक रुपमा त्यस्तै केही भन्न खोजिएको पो हो कि, त्यो हामीले बुझ्दै बुझेनौँ र धर्म हुन्छ भन्दै बलि दिँदै गयौँ।
मान्छेमा पनि असुरको प्रवृत्ति हुन्छ। क्रोध, लोभ, इर्ष्या त्यस्ता प्रवृत्ति हुन्।  रक्तबिजको कथामा त्यो असुरको रगत भूँइमा पर्ने बित्तिकै अर्को त्यस्तै असुर जन्मने बताइन्छ। कहीँ क्रोध, लोभ जस्ता प्रवृत्तिलाई हामीले जति रोप्छौँ, उति यो बढ्छ भनेर हामीलाई सचेत गराउन त त्यो कथा रचिएको हैन ? हामीले त्यो हिसाबले सोच्दै सोचेनौँ। देवीले असुरको नाश गरे जस्तै हामीले पनि त्यस्तै आसुरी प्रवृत्तिलाई त्याग गरेर बलि दिनुपर्ने भन्ने पो त्यो कथाको शिक्षा थियो कि, हामीले बुझ्नै चाहेनौँ। सोझो हिसाबले हामीले देवीले महिसासुरलाई मारेका थिए, हामी राँगो मार्छौँ भन्ने पो सोच्यौँ। राँगो हुँदाहुँदा कुखुरा, हाँस, बोका सबलाई मार्न थाल्यौँ।
बलि प्रथाले मान्छेलाई हिंसात्मक बनाउँछ। कसैको ज्यान लिने काम चानचुने साहसको कुरा हैन। मनमा करुणा भएको मान्छेले यसो गर्नै सक्दैन। जसले यसरी मार हान्छ र बलि दिन्छ, उसका लागि त्यो एउटा सहज काम जस्तो हुन जान्छ। गर्दिउँ न त भनेर मनमा प्राकृतिक रुपमा रहने करुणालाई दबाएर पशुको रगत बगाउने बानी लागेपछि मान्छेको रगत बगाउन पनि गाह्रो नमान्ने डरलाग्दो प्रवृत्ति विकास हुनसक्छ।
म आफूलाई मासु मन पर्दैन। तर मलाई मन नपर्दैमा सबैलाई मासु खान मन नपर्नु नै पर्छ  भन्ने हैन। मलाई त देउताको नाममा वा धर्मको नाममा काटिने बलि प्रथाप्रति आपत्ति छ। परम्पराले मलाई हिन्दु भन्छ र मलाई थाहा छ हिन्दु अहिंसावादी धर्म हो। यो हिंसाको परम्परा पछि आएको हो। कति ठाउँमा त ज्यादै क्रुर परम्परा छन्। पशुलाई यातना दिई दिई मारिन्छ धर्मको नाममा। यो रोकिनु पर्छ। अथवा मान्छेको मनमा ‘ए, हो त नि है, यो त गलत हो नि’ भन्नेसम्म पार्न सकनु पर्छ।
आखिर परम्परा भनेको हामी आफैले सुरु गरेपछि बन्ने त रहेछ नि। उ शाकाहारीहरूले  कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन त छँदैछ नि अहिलेसम्म।


No comments:

Post a Comment